• पर्यटन पुनरुत्थान प्रयास

    पर्यटन पुनरुत्थान प्रयास

    कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुने थिए । काठमाडौंको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रुपन्देहीको लुम्बिनीमा हजारौँ पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे । कोही ‘ह्वाइट वाटर -याफटिङ’ मा रमाइरहेका भेटिन्थे । कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे ।

    कोही अन्नपूर्णको फेदीतिर हिमाल र हिउँको वर्णन गर्दै पुलकित भइरहेका हुन्थे भने कोही सगरमाथाको आधार शिविर पुगेर आफू भाग्यमानी भएको अनुभूति गरिरहेका हुन्थे । कोही खप्तडतिर, कोही रामारोशनतिर, कोही बर्दियातिर बाघसँग लुकामारी गरिरहेको अवस्थामा भटिन्थे । सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोना कहरले संसारका धेरै देश र त्यहाँका नागरिक जस्तै नेपाल पनि प्रभावित भयो ।

    मान्छे मान्छेसँग डराउनुपर्ने, सामाजिक रुपमा घुलमिल हुन नपाउने अवस्था देखा पर्‍यो । पर्यटक बनेर संसार डुल्ने मानिस कोही घरैभित्र सीमित भए । कोही अस्पताल पुगे । कोही फर्किएर घर आए भने कोहीले त्यही जीवनलीला अन्त्य गरे । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा विकसित भएको पर्यटन क्षेत्र ओरालो लाग्दा नेपालले पनि ठूलो क्षति व्यहोर्नुपरेको छ । चालु आवको आठ महिनामा मात्रै १८.५ प्रतिशतले विदशी मुद्राको सञ्चिति ओरालो लागेको छ । दुई वर्ष त कोरोनाका कारण सबै क्षेत्र प्रभावित भयो ।

    पर्यटन र विप्रेषणबाट भित्रने वैदेशिक मुद्रामा चाप परिरहेको छ । अर्बौ लगानी गरिएका होटल, रेष्टुरेन्ट तथा पर्यटकीय क्षेत्र सुनसान बन्दा हजारौँको रोजगारी खोसियो । प्रत्यक्षरुपमा रोजगारी पाएका १० लाख बढी नेपालीमध्ये कोरोनाका कारण झण्डै सात लाखले काम छाड्न बाध्य भए । ती मासिनलाई रोजगारीमा पुनः फिर्ता ल्याउनुपर्ने चुनौती छ ।सरकारले पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि यसअघि पहल नगरेको भने होइन । तर, कोरोनाका अनेकन भ्यारियन्टका कारण सरकारको सार्थक पहलले पनि यस क्षेत्रलाई पुनः जागृत गराउन सकेन ।

    यद्यपि, पछिल्ला दिनमा नेपालभित्रने पर्यटकको सङ्ख्यामा प्रगति भइरहेको छ । कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक सन् २०२२ को मार्च महिनामा नेपाल आएका छन् । यसबाट पनि नेपाल पर्यटकका लागि आर्कषणको केन्द्र छ, रहन्छ र रहिरहनेछ भन्ने स्पष्ट भएको छ । अध्यागमन विभागका अनुसार सो महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा कुल १६ हजार ९७५ जना, फेब्रुअरीमा १९ हजार ७६६ जना पर्यटक नेपाल आएको पाइएको छ ।

    पछिल्ला दिनमा रुस र युक्रेन सङ्घर्षका कारण पनि अन्तर्राष्ट्रिय पर्यटन बजारमा नकारात्मक असर परेको छ । केही देशमा कोरोना कहर अझै पनि बाँकी नै छ ।  बिहानले दिनको सङ्केत गर्छ भने जस्तै, सन् २०२२ सुरु भएदेखि नै सकारात्मक बन्दै गएको नेपालको पर्यटन बजार अझै विस्तारित भएर जाने अवस्था सिर्जना भएको छ । सरकारले पनि पर्यटन क्षेत्रलाई थप विस्तार गर्न, बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन तथा उनीहरुलाई राम्रो आतिथ्य प्रदान गर्नका लागि चरणबद्ध रुपमा कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ ।

    सरकारकै चासो र खुकुलो नीतिका कारण पर्यटकको आवागमनमा वृद्धि भइरहेको र विश्व बजारमा नेपाल खुल्ला छ भन्ने सन्देश गएका कारण पनि अवस्था सहज बन्दै गएको छ । सहज बन्दै गएको वातावरणलाई थप विस्तार र विकसित गर्न पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अध्यक्षतामा सन् २०२२ जनवरी २७ मा  ‘राष्ट्रिय पर्यटन पुरुत्थान निर्देशक समिति’ गठन गरियो । समिति मातहत रहने गरी पर्यटन पुनरुत्थान प्राविधिक समितिसमेत गठन गरियो । सोही समितिले पर्यटनमन्त्री आलेलाई ‘राष्ट्रिय पर्यटन पुनरुत्थान कार्यक्रम प्रतिवेदन’ हस्तान्तरण गरेको छ ।

    समितिले तयार पारेको प्रतिवेदन अनुसार सन् २०२२ मा कुल पाँच लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । यस्तै, सन् २०२३ मा कुल १० लाखभन्दा बढी पर्यटक नेपाल आउने वातावरण तयार पारिनेछ । पर्यटन क्षेत्रबाट रोजगारी गुमाएका सात लाख मानिसलाई पुनः यसमा जोडिनेछ । त्यस्तै, सात वटै प्रदेशमा गुणस्तरीय तालिम तथा सीप विकासका लागि विशेष अभियान सञ्चालन गरिनेछ । प्राविधिक समितिका संयोजक राजाराम गिरीका अनुसार नेपालको दिगो पर्यटन विकासका लागि नयाँ अभियानका साथ ‘रि ब्राण्डिङ’ गर्न आवश्यक छ । त्यसले देशलाई एक प्रामाणिक, समावेशी र प्ररेणादायी मन्तव्यको रुपमा पुनः स्थान दिन्छ ।

    पर्यटन ऐन, २०३३, नागरिक उड्डयन ऐन जस्ता प्रचलित ऐन वा नीतिहरु परिमार्जन गर्न आवश्यक रहेको ठहर गर्दै समितिले सिल्भर भिसाको व्यवस्थाका अलावा माइस टुरिजमलाई पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ । अन्तर्राष्ट्रिय बैठक, प्रोत्साह सम्मेलन एवं पदर्शनी तथा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना नेपालमा आयोजना गर्नका लागि प्रेरित गर्नुपर्ने समितिको सुझाव छ ।

    पर्यटकीय स्थलमा सुधार, आधुनिक वासरुम, सरसफाइ र उचित व्यवस्थापनलगायत नेपाल छिर्ने वित्तिकै प्राप्त गर्ने सेवामा गुणात्मक सुधार गर्नुपर्ने देखिन्छ । विमानस्थलमा रहेका अध्यागमन कार्यालयमा द्रुत सेवा, एटिएम, सिमकार्ड तथा मानवीय व्यवहारसमेत सहज हुनुपर्ने र पर्यटकमैत्री हुनुपर्ने, पर्यटन सेवाको गुणस्तर, आतिथ्य र रेष्टुरेन्टकोस्तर वृद्धि, खोजी नगरिएका दुगर्म क्षेत्रमा नयाँ गन्तव्य र सुविधा, अनुसनधान, पहिचानका साथै ती मार्गको अनुमति तथा आधारभूत पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने समितिको ठहर छ ।

    पर्यटन क्षेत्र पुनः विस्तारित भएका अवस्थामा थप रोजगारीका अवसरको सिर्जना हुनेछ र गुमेका रोजगारी पुनः प्राप्त हुनेछ । विश्वव्यापी रुपमा नेपालको अद्वितीय छविलाई पुनः ब्राण्ड र पुनःस्थापित हुनेछ । पर्यटन व्यवसाय र विदेशी लगानीका लागि अनुकूल वातावरण सिर्जना हुने र नयाँ उचाइबाट विकासको बाटोमा अगाडि बढ्नेछ । विदेशी मुद्राको सञ्चितिमा चाप परिरहेको बेला त्यसलाई सम्बोधन गर्न थप सहयोगी हुनेछ । विश्वको पर्यटन क्षेत्रको नक्शामा नेपालको छविलाई एक पटक घुम्नैपर्ने प्मुख गन्तव्यको रुपमा पुनः स्थापित हुनेछ ।

    मन्त्री आलेलाई बुझाइएको प्रतिवेदन अनुसार तत्काल नै नेपालको बलियो पक्षहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि एक व्यावसायिक मार्केटिङ टोली गठन गरी, विशेष जिम्मेवारीसहित परिचालन गर्नु आवश्यक छ । तीव्र रुपमा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ  । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका नेपालको प्रचारप्रसारलाई योजनाबद्ध प्रयत्न गर्नु आवश्यक छ । बीबीसी, सिएनएन, सिजिटिएन, अल जजिरा जस्ता अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा नेपालको पर्यटकीय गन्तव्यको श्रव्य दृश्य सामग्री प्रचारप्रसार गर्ने वातावरण मिलाउनु आवश्यक छ ।

    त्यस्तै, नेपालका राजदूतावास रहेका देशमा पर्यटन अधिकारी नियुक्त गरी विशेष जिम्मेवारी दिनुपर्ने सुझाव पनि  समितिले दिएको संयोजक गिरीले जानकारी दिनुभयो । प्रतिवेदन बुझ्दै मन्त्री आलेले नेपालको पर्यटन क्षेत्रलाई पुनः जागृत गराउन के कस्ता काम गर्नुपर्छ त्यसका लागि सरकार र निजी क्षेत्रले सार्थक रुपमा साझा प्रयत्न गर्नुपर्ने बताउनुभयो । विमानस्थलमा रहेका सरकारी निकाय जस्तै, अध्यागमन, भन्सारलगायतमा सरलीकृत सेवा प्रदान गर्न अन्तरमन्त्रालय समन्वय, सरसफाइमा विशेष ध्यान दिँदै समयमै सेवा दिने गरी वायु सेवा प्रदायक कम्पनीले पनि तालिका तय गर्नुपर्ने मन्त्री आलेको भनाइ थियो । उहाँले भौगोलिक क्षेत्रमा आधारित लक्षित पर्यटन बजारको प्राथमिकता पहिचान गर्दै सरकार त्यसमा क्रियाशील हुने बताउनुभयो ।- रासस

    वैशाख १६ ,२०७९
    तस्विर- ट्राभल बिज न्यूज

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस