• पोखरा : राजधानी घोषणाले मात्र पर्यटक आउँदैनन्

    पोखरा : राजधानी घोषणाले मात्र पर्यटक आउँदैनन्

    किशोर थापा 

    पोखराको आतिथ्य संस्कार राम्रो छ । सहरी विकासका हिसाबले पनि नेपालका सुन्दर र व्यवस्थित सहरको सूची बनाउँदा पोखरा पहिलो नम्बरमै आउँछ होला । यहाँ निकै राम्रो सहरी विकास योजना बनाई लागू गरिएको छ । उद्यमीहरूको ठूलो संख्या छ यहाँ । यस सहरलाई फोहोर सहर कसैले भन्न सक्दैन । अधिकांश सडक फराकिला, सफा र व्यवस्थित छन् । तर, पर्यटनको विशाल सम्भावना हुँदाहुँदै पनि पोखरामा त्यसअनुसार पर्यटकीय चहलपहल भने देखिन्न ।

    सरकारले केही समयअघि मात्रै पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेको छ । तर, पर्यटकीय राजधानी घोषणा गर्दैमा पर्यटक बढ्छन् भन्न सकिँदैन । यसका लागि थप तयारी गर्न जरुरी छ । यसका लागि स्पष्ट योजना बनाउनुपर्छ । कुनै सहरमा देशका अन्य भागमा भन्दा बढी पर्यटक जान्छन् र त्यहाँको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन बन्छ भने त्यो स्वतः पर्यटकीय सहर या राजधानीका रूपमा चिनिन्छ, सरकारले घोषणा गरिरहनुपर्ने जरुरी नै छैन । सरकारको ध्यान पर्यटकको संख्या बढाउने दिशातिर मात्र केन्द्रित हुनुपर्छ । त्यसका लागि पूर्वाधार तथा वातावरण बनाइदिने जिम्मेवारी सरकारको हो । अन्यथा, यस्ता घोषणा राजनीतिक ‘स्टन्ट’मै सीमित हुन्छन् । हाम्रोमा दुई–तीन दशकदेखि केही न केही घोषणा गरिरहने लहर चलेको छ । अब त यो संस्कार नै बनिसक्यो ।

    युरोपमा अस्ट्रियाको राजधानी भियना, इटलीको रोम, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिसलगायत सहरमा ठूलो संख्यामा पर्यटक आउँछन् । तर, ती सहरलाई पनि पर्यटकीय राजधानी भनेर त्यहाँको सरकारले घोषणा गरेको छैन । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दाको एउटै मात्र राम्रो पक्ष सर्वसाधारणमा चेतना जगाउने भन्ने हो । तर, पर्यटक भिœयाउन चेतना मात्रै पर्याप्त हुँदैन । पूर्वाधारमा पर्याप्त लगानी गर्नुपर्छ ।

    अहिले पोखराका कतिपय ठाउँमा सडकको अवस्था राम्रो छैन । कतिपय सडक अँध्यारा छन् । ट्राफिक जामको समस्या पनि छ कतिपय क्षेत्रमा । सहरको हालत यस्तो रहेसम्म पर्यटक आकर्षित हुन सक्दैनन् । लेकसाइडबाहेक अन्यत्र पर्यटकीय गतिविधि पनि कम देखिन्छ । बेगनासमा पनि तालवरपर मात्र केही रिसोर्ट छन् । पोखरामा अन्यत्र पनि पर्यटकीय गतिविधि बढाउन जरुरी छ ।

    कुनै सहरमा देशका अन्य भागमा भन्दा बढी पर्यटक जान्छन् र त्यहाँको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन बन्छ भने त्यो स्वतः पर्यटकीय सहर या राजधानी हो, सरकारले औपचारिक घोषणा गरिरहनु जरुरी हुँदैन/

    पोखराको पर्यटनको अर्को आधार अन्नपूर्ण सर्किटको पदयात्रा हो । मुस्ताङ हुँदै कोरोलासम्म जाने नाकाको प्रवेशद्वार पनि पोखरा नै हो । यहाँको शीतल हावापानी र मनोरम दृश्यले धेरै पर्यटकलाई आकर्षित गर्छ । यहाँ पर्यटनको अपार सम्भावना छ । तर, यस सहरलाई पर्यटकीय राजधानीका रूपमा स्थापित गर्नका लागि भने गर्नुपर्ने काम अझै धेरै बाँकी छन् ।

    अन्नपूर्ण सर्किटमा जानुपर्ने मानिसले अहिले एक–दुई रात पोखरा बसेर हिँड्ने गरेका छन् । उनीहरूको बसाइ लम्ब्याउन यहाँ विभिन्न गतिविधि गर्न सकिन्छ । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्नु जरुरी छ । क्रिकेट, फुटबलजस्ता खेलका विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्न सके पर्यटकलाई भित्र्याउन सहज हुन्छ । यहाँ रंगशाला पनि छन् । तर, अन्तर्राष्ट्रियस्तरका खेल खाएको भएको देखिँदैन । सरकारको सहयोग लिएर राम्रा खेल आयोजना गर्ने क्षमता विकास गर्न जरुरी छ । त्यसका लागि खेलकर्मी र पर्यटन व्यवसायीले विशेष चासो दिनुपर्छ । सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ । गल्फ खेल्नका लागि यहाँ ‘हाई क्लास टुरिस्ट’ आउन सक्छन् । यहाँ साहसिक खेलका प्रतियोगिता पनि आयोजना गर्न सकिन्छ ।

    पोखरालाई ध्यानकेन्द्रका रूपमा पनि प्रवद्र्धन सकिन्छ । माछापुच्छ्रेको मनोहारी दृश्य हेर्दै ध्यान गर्नुको मजा नै बेग्लै छ । ऋषिमुनीहरूले नै ध्यान गरेको ठाउँँ हो, नेपाल । यहाँको मौसम पनि राम्रो छ । चारैतिर हरिया डाँडाकाँडा देखिन्छन् । उत्तरतिर हिमाली शृंखलाको सुन्दरता लोभलाग्दो देखिन्छ । तसर्थ, यहाँ ध्यान गर्नकै लागि हजारौँ मानिस आउन सक्छन् । तर, सुरक्षा र बसोवासको भने राम्रो व्यवस्था हुन जरुरी छ ।

    भारतले योग दिवसलाई अन्तर्राष्ट्रिय जगत्मै स्थापित गरिसकेको छ । नेपालले पनि ध्यान दिवसलाई स्थापित गर्ने प्रयत्न गर्न सक्छ । वर्षमा एक दिन ध्यान दिवसका रूपमा मनाउने, ध्यान गर्नका लागि पर्यटकलाई नेपालमा आकर्षित गर्ने योजना बनाउन सकिन्छ । तीर्थाटनका लागि पनि नेपालमा धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ । सकारात्मक कुरा, नेपालगन्ज सहरले भारतीय पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन थालेको छ । नेपालगन्जमा वेलकम गरेर त्यहाँबाट मानसरोवर पठाउने काम भइरहेको छ । पोखरामा पनि मुक्तिनाथ जाने भारतीय पर्यटक प्रशस्तै आउँछन् ।

    विन्ध्यवासिनीलगायत मन्दिर, तालतलैया र त्यहाँको शीतल वातावरणले पनि आकर्षित गरिरहेका हुन्छन्, भारतीय पर्यटकलाई । तर, जति हुनुपर्ने हो, त्यति भइरहेको छैन । पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि आयोजना गर्न सकिन्छ । यस्ता कार्यक्रममा भिआइपी र भिभिआइपी अतिथिलाई बोलाउँदा सहरको पर्यटकीय प्रवद्र्धन आफैँ हुन्छ । तर, यसका लागि पनि हाम्रो सुरक्षा व्यवस्था भने चुस्त हुनुपर्छ । स्वास्थ्य र शिक्षाको हब पनि बनाउन सकिन्छ पोखरलाई । यहाँ अहिले सिक्किमको मणिपाल अस्पताल छ । अन्य अस्पताललाई पनि स्तरोन्नति गरेर यहाँ आउनेलाई दन्त चिकित्सा, प्लास्टिक सर्जरीलगायत उपचार सेवा उपलब्ध गराउन सकिन्छ ।

    नेपालमा उपचार सस्तो पर्ने भएकाले विदेशीहरू आकर्षित हुन सक्छन् । घुमघाम पनि गर्ने प्लास्टिक सर्जरी वा दन्त चिकित्सा पनि गर्ने भनेर योजना बनाउन सक्छन् उनीहरूले । हावापानी राम्रो भएकाले यहाँ बस्न बिरामीले सहज महसुस पनि गर्छन् । यहाँ मेडिकल कलेजहरू पनि खोल्न सकिन्छ । यस्तो हुँदा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायत देशका विद्यार्थी आएर पढ्छन् । उनीहरूका बाबुआमा, दाजुभाइ र साथीभाइ पनि वेला–वेला भेट्न आउँछन् । यसले पनि पर्यटन प्रवद्र्धनमा राम्रै सहयोग पुर्‍याउँछ ।

    पर्यटकका चाहना फरक–फरक हुन्छन् । कसैलाई क्यासिनो मन पर्छ त कसैलाई पदयात्रा । कोही तीर्थयात्राका लागि आउँछन् त कोही प्याराग्लाइडिङ गर्नकै लागि यहाँसम्म धाउँछन् । त्यसैले, सबैखाले पर्यटकलाई उनीहरूको रुचिअनुसारका सेवा उपलब्ध गराउन हामी तयार हुनुपर्छ ।

    अहिले पर्यटकीय गतिविधि कम भएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । यस्तो अवस्थालाई चिर्न पर्यटन व्यवसायी पनि सक्रिय हुनुपर्छ । थाइल्यान्डबाट पाँच सयजना पर्यटक ल्याउने भनेर कुनै ट्राभल एजेन्सीले ग्यारेन्टी गर्‍यो भने नेपालका एयरलाइन्स त्यहाँ पुगिहाल्छन् । काठमाडौंका व्यवसायीसँग त्यहाँका पर्यटन व्यवसायीले पनि समन्वय गर्नुपर्‍यो । सुरुमा चार्टर्ड फ्लाइटमार्फत पर्यटक ल्याउने र पर्यटकको संख्या बढेपछि नियमित उडान गर्ने व्यवस्था मिलाउन सकिन्छ । बैंकक–पोखरा, मुम्बई–पोखरालगायत उडान गराउन सकिन्छ । तर, त्यसका लागि पनि पहिले पर्यटन गतिविधि नै बढाउन जरुरी छ ।

    काठमाडौंबाट पोखरा जाने सडकलाई पनि व्यवस्थित बनाउन जरुरी छ । जाम र समय–समयमा सडक बिग्रिँदा पर्यटकले हैरानी खेप्छन् । पर्यटकहरू हैरानी खेप्न चाहँदैनन् । उनीहरू सफा–चिटिक्क सडकमा सुरक्षित यात्रा गर्न चाहन्छन् । त्यहीकारण सडकलाई व्यवस्थित बनाउन जरुरी छ । केही समयअघि मात्रै पोखराको हेम्जा हुँदै लुम्लेतिर जाने सडकको ड्रोनबाट खिचेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसले धेरै आन्तरिक पर्यटकलाई आकर्षित गर्‍यो । जहिल्यै धुलो उडिरहने सडकमा कोही जान चाहँदैन । पर्यटकले सुरक्षा र सरसफाइलाई सधैँ प्राथमिकतामा राखेका हुन्छन् । यसतर्फ सबैको ध्यान जानुपर्छ । किनकि, पर्यटक मुड फ्रेस गर्न आएका हुन्छन् ।

    पर्यटकको बसाइलाई यादगार बनाउन आवासले पनि ठूलो भूमिका खेल्छ । हामीले आफ्नै मौलिक स्वरूपका घर निर्माण गर्नुपर्छ । पोखरामा अहिले मापदण्डविपरीत अग्लाअग्ला घर बनिरहेका छन् । एउटाले अग्लो घर बनाउँदा व्यक्तिगत रूपमा उसलाई फाइदा होला । तर, उसले सयौँ घरलाई अप्ठ्यारोमा पारेको हुन्छ । फेवाताल र माछापुच्छ«ेको दृश्य छोपेको हुन्छ । आफ्नो फाइदाका लागि सहरलाई कुरूप बनाउन कसैले पनि पाउँदैन । पर्यटकीय आकर्षण बढाउन हामीले यहाँको वास्तुकलामा पनि ध्यान दिन जरुरी छ । पोखराको संस्कृति संरक्षण गर्न जरुरी छ । यहाँ दिल्ली वा दुबईमा जस्तो घर बनाएर हुँदैन । यहाँको ल्यान्डस्केपसँग मिल्ने एकनासका भवन बनाउनुपर्छ । त्यसले सहर सुन्दर र आकर्षक देखिन्छ ।

    पोखरामा तीन तलासम्मका घर राम्रा देखिन्छन् । ढुंगा, स्लेट, काठ प्रयोग गरेर घर बनाउनुपर्छ । भित्र कंक्रिट प्रयोग गरे पनि बाहिर झ्यालढोका र बरन्डामा परम्परागत ‘लुक्स’ आउनुपर्छ । भैरव टोलमा केही त्यस्ता घर संरक्षण गरिएका छन्, जसले पुरानो पोखराको झल्को दिन्छ । सबै महानगरमा यस्ता घर आवश्यक नपर्ला । तर, पर्यटकीय क्षेत्रमा भने यस्ता घर बनाउन जरुरी छ ।

    होहल्ला, प्रदूषण, अव्यवस्थित घर, ट्राफिक व्यवस्थापन कमजोर भएका स्थानमा पर्यटक कम आउँछन् । त्यसैले, यहाँको ट्राफिक व्यवस्थापन पनि सुधार गर्नुपर्छ । यहाँको एउटा उदाहरणीय काम निजी व्यवसायीले चलाएका सार्वजनिक बस हुन् । ती बसको रंग एकैनासको छ । रुट व्यवस्थित छ । ट्याक्सी पनि एकरूपका देखिन्छन् । पोखराबाट विभिन्न स्थानसम्म जाने गुणस्तरीय पर्यटक बसको पनि राम्रो व्यवस्था छ । यो यहाँको सकारात्मक पाटो हो ।

    पोखरामा अनेकौँ लामा–छोटा पदमार्ग छन् । तिनलाई प्रवद्र्धन गर्नुपर्छ । छोटो समयको पदयात्रा गर्न चाहनेहरूका आवश्यकतालाई पनि ध्यान दिनुपर्छ । पोखरा सफा सहरमै पर्छ । तर, केही खोँचमा फोहोर जम्मा भएको पनि देखिन्छ । त्यसलाई सरसफाइ गर्न स्थानीय नै जागरुक हुनुपर्छ । अनि मात्र देशकै पर्यटकीय राजधानी घोषणाले सार्थकता पाउन सक्छ । अन्यथा, यस्ता घोषणा केवल घोषणामै सीमित नहोलान् भन्न सकिन्न ।

    (पूर्वाधारविज्ञ थापा नेपाल सरकारका पूर्वसचिव )

    जेष्ठ , २०८१

    तस्विर – लेकसाइड पोखरा ( ट्राभल बिज न्यूज }

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस