• पोखराको फेवा किनारमा रानीको नाममा बनाइएको एउटा भव्य महलको कथा

    पोखराको फेवा किनारमा रानीको नाममा बनाइएको एउटा भव्य महलको कथा

    नारायण कार्की —

    पोखराको फेवाताल किनारमा बनाइएको मनमोहक शाही बङ्गला देखेर नलोभिने को होला ? रत्न मन्दिर भनिने बङ्गला ताल किनारको सडकबाट देखिँदैन। बरु पूर्वपट्टिबाट डुङ्गामा सयर गर्दै बाराही मन्दिर जानेले दक्षिण फर्किएको भवनको थोरै हिस्सा देख्न सक्छन्।

    पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसायको एउटा प्रमुख आधार बन्दै आएको फेवा तालको किनारमा छ दशकअघि निर्माण गरिएको रत्न मन्दिर लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ।

    राजतन्त्रको पतनसँगै राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको अन्त्य हुने बेलामा उनीहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई नेपाल ट्रस्ट ऐन २०६४ अन्तर्गत ल्याइएको छ ।

    त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने कानूनी व्यवस्था भइसके पनि अहिलेसम्म प्रयोगमा ल्याइएको छैन।

    नेपाल ट्रस्टले फेवा तालको रमणीय किनारमा रहेको यति महत्त्वपूर्ण सम्पत्ति प्रयोगविहीन अवस्थामा नेपाली सेनाको सुरक्षामा राखिरहनुका पछाडि यसको प्रयोगबारे विवाद नै प्रमुख कारण रहेको धेरैको बुझाइ छ।

    ट्रस्टले गोकर्णस्थित फरेस्ट रिजोर्ट, कमलादीको काठमाण्डू प्लाजा, सोल्टी आउटर कम्प्लेक्स लगायतका थुप्रै सम्पत्ति भाडामा वा लिजमा दिइसक्दा पनि पोखराको रत्न मन्दिर भाडामा वा लिजमा आजसम्म दिन नसक्नुको प्रमुख कारण स्थानीयवासीको विरोध नै हो । रत्न मन्दिर रहेको क्षेत्र पोखराको पर्यटनको केन्द्रविन्दु नै हो।

    पर्यटन व्यवसायी र स्थानीय जनता व्यक्ति विशेष वा कुनै कम्पनीलाई लाभ पुग्नेगरी ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको रत्न मन्दिरलाई कुनै पनि हालतमा भाडामा वा लिजमा दिइनुहुन्न भन्ने मत राख्छन्।

    पर्यटन व्यवसायी बासु त्रिपाठी र लक्की कार्की ‘व्यक्तिको होइन, समग्र पर्यटनको प्रवर्द्धन हुने गरी यसको सदुपयोग हुनुपर्ने’ मान्यता राख्छन्। ट्रस्ट भने यसलाई भाडामा वा लिजमा दिएर आम्दानी लिई ट्रस्टको लक्ष्य अनुसार त्यसलाई खर्च गरिनुपर्ने सोचमा छ।

    तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले ट्रस्टको अध्यक्षको हैसियतले रत्न मन्दिरले चर्चेको जग्गालाई लिजमा दिएर दुर्गम क्षेत्रका बालबालिकाको पठनपाठनमा खर्च गर्ने भनेर पोखराको एक कार्यक्रममा बोल्दा स्थानीय पर्यटन व्यवसायीले तत्काल प्रतिवाद गरेका थिए।

    उनीहरू यो ऐतिहासिक सम्पदालाई राष्ट्रहितमा प्रयोग गरिनुपर्ने सुझाव दिँदा गौतमले सराङकोट डाँडातिर देखाएर ती सबै सम्पदा हुन् भनेर ओठेजवाफ फर्काएको घटनालाई नमीठो रूपमा स्मरण गर्छन् ।त्यसयता पनि ट्रस्टले यो जग्गा लिजमा दिने योजना बनाएको र स्थानीयवासीले प्रतिवाद गरेको सुनिन्छ।

    ट्रस्टकै नाममा फेवा तालको किनारमा रहेको अर्को घरसहितको जग्गा हिमागृह यति एयरलाइन्सलाई लिजमा दिने निर्णय भएर पनि स्थानीयवासी जनताको विरोधका कारण निर्णय फिर्ता लिइएको थियो ।

    रत्न मन्दिरको उपयोग कसरी गर्ने त?

    रत्न मन्दिरले चर्चेको जग्गा कुल ११० रोपनी छ। फेवा ताल किनारमै रहेको हिमागृह १३ रोपनीमा छ। रत्न मन्दिरको हाता बाहिर पश्चिमपट्टि खुलाचौर ४८ रोपनी छ। रत्न चोकमा दुई रोपनी र ट्रस्टको कार्यालय भवन दुई रोपनीमा छ।

    सबैजसो जग्गाहरु पर्यटकीय केन्द्रमा छन्। पर्यटन व्यवसायको हिसाबले पर्याप्त सम्भावना बोकेको ठाउँमा भएका कारण यी सम्पत्तिमा व्यवसायीले आँखा लगाउनु स्वाभाविकै हो। तर पोखरेलीहरू नेपालको राजतन्त्रको इतिहाससँग जोडिएको रत्न मन्दिरबाट आय आर्जन गर्ने कुरामा सहमत भए पनि यसको लाभ सीमित व्यक्ति वा स्वार्थ समूहले उठाउनु हुन्न भन्ने पक्षमा छन्।

    शाही इतिहास

    रत्न मन्दिर तत्कालीन राजा महेन्द्रले आफ्नी रानी रत्नको नाममा निर्माण गरेको दरबार हो। त्यसताका उनी बेलाबेला रत्न मन्दिर आएर बस्थे। शाही अतिथिहरूलाई भेटघाट गर्ने र आतिथ्यता समेत प्रदान गरिन्थ्यो। पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा आफू शाही अतिथि भएर रत्न मन्दिरमा पाँच/सात दिन बसेको कुरा उल्लेख छ। दक्षिण भारतबाट बेतका पलङ्ग, कुर्सी र ड्रेसिङ टेबलहरू आएको थियो भनी आत्मवृत्तान्तमा उल्लेख गरिएको छ।

    वीरेन्द्र राजा भएपछि पश्चिमाञ्चल क्षेत्रीय भ्रमणका अवसरमा यो दरबार र रत्न मन्दिरका नाममा रहेको पर्याप्त जग्गालाई सचिवालयहरू स्थापनामा बराबर प्रयोग गरिन्थ्यो।

    रत्न मन्दिर खुला गरिए पर्यटकहरूको पोखरा बसाइ अवधि लम्ब्याउन सघाउ पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ। बिदा गरिएको नेपालका राजाको हिउँदे दरबारका रूपमा प्रयोग गरिएका सामान जस्ताको तस्तै हेर्न स्वदेशी तथा विदेशी सबैका लागि रुचिको विषय हुनसक्छ।

    सङ्ग्राहलयको माग

    टिकट काटेर हेर्ने गरी रत्न मन्दिर खुला गरिनुपर्ने पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीको सुझाव छ।सार्वजनिक स्वामित्वको सम्पत्ति कम्पनी वा व्यक्तिलाई किमार्थ दिन नहुने उनको तर्क छ।

    रत्न मन्दिरलाई सङ्ग्रहालय र सुन्दर पार्कका रूपमा विकास गर्न सकिने अर्का पर्यटन व्यवसायी लक्की कार्कीको मत छ।

    पोखरा बैदामका ८४ वर्षीय होमबहादुर लामिछाने रत्न मन्दिरलाई त्यत्तिकै बन्द गरेर राख्न नहुने बरु राज्यले त्यसको हेरचाह गरेर देशका निम्ति आय हुने काम गर्नुपर्ने सल्लाह दिन्छन् ।

    दरबारका पूर्वकर्मचारी समेत रहेका उनी ताल र हिमाल देखिने यो ठाउँमा बेलायतकी महारानी एलिजाबेथ आएर बसेकी तर हिमाल बादलले ढाकेका कारण हिमाल देख्न नपाई मन सानो पारेर फर्केको स्मरण गर्छन्।

    बैदाम निवासी मेशबहादुर भट्टराई रत्न मन्दिर निर्माण भएको जग्गा आफ्ना बुवा, दाजुभाइ र छिमेकीसँग राजा महेन्द्रले किनेको बताउँछन्। पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण यस ठाउँलाई अवलोकनका लागि खुला गरेर उपयोगमा ल्याउनुपर्ने उनको धारणा छ ।

    रत्न मन्दिर खुला गर्ने योजना किन रोकियो?

    दुइ वर्षअघि रत्न मन्दिर सर्वसाधारण र पर्यटकका लागि शुल्क लिएर खुला गर्ने तयारी भएको जानकारी नै दिइएको थियो। नेपाल ट्रस्ट सम्पत्ति अवलोकन तथा खर्चसम्बन्धी विनियमावली २०७३ तयार गरेर विद्यार्थी र ज्येष्ठ नागरिकलाई रु ५०, स्वदेशीलाई रु १०० र विदेशीलाई रु १००० शुल्क निर्धारण गरिएको थियो। पछि के कारणले खुल्न नसकेको हो जानकारी नै दिइएन।

    नेपाल ट्रस्टका इन्जिनियर श्रीकान्त भट्टराई रत्न मन्दिर खोल्नुअघि पूर्वतयारीका काम गर्नुपर्ने र त्यतिबेला माग गरिएको रु ५ करोड प्राप्त हुन नसक्नु यस पछाडिका कारण हुन सक्ने बताउँछन्। उनका अनुसार अहिले पनि रत्न मन्दिर भरतपुरको दियालो बङ्गला लगायतका ट्रस्टको सम्पत्तिको आवश्यक मर्मत सम्भारका लागि रु १७ करोड माग गरिएको छ।

    कति छ नेपाल ट्रस्टको सम्पत्ति?

    नेपाल ट्रस्टको कार्यालय दरबारमार्गले प्रकाशित गरेको सम्पत्ति विवरण अभिलेख २०७३ अनुसार ट्रस्टको नाममा नेपालका विभिन्न ठाउँमा करिब २१ हजार ५०० रोपनी जग्गा छ। ट्रस्टका एक कर्मचारीका अनुसार हाल नगद करिब रु ७० करोड छ। यस बाहेक नबिल ब्याङ्क, होटल अन्नपूर्ण, नेपाल औद्योगिक विकास निगमको दशौँ हजार कित्ता शेयर पनि छ।

    ट्रस्टको सम्पत्तिको संरक्षण र उपयोग गर्दै गुरुयोजना बनाएर आयआर्जनमा लगाइनुपर्ने र सम्पत्ति निष्क्रिय राख्न नहुने जनधारणा छ। नत्र सेनाको पहरामा राखिएको रत्न मन्दिर विना प्रयोजन राखिने कार्यलाई राजतन्त्रको पुनरागमनको प्रतीक्षा गरिएको त होइन भन्ने जनसाधारणको टिप्पणीलाई नै बल पुर्‍याउनेछ। साभार : बीबीसी नेपाली सेवा    तस्विर: रत्न मन्दिर / कृष्ण मणि बराल

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस