• सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट निकै प्रभावित छु : रेनहोल्ड मेस्नर

    सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट निकै प्रभावित छु : रेनहोल्ड  मेस्नर

    सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसक्नुभएका उहाँ नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुनुहुन्छ । ७७ वर्षीय मेस्नर अहिले पनि नेपालको पर्वतीय पदयात्रामा गहिरो अभिरुचि राख्नुहुन्छ । नेपाललाई अति मन पराउने उहाँले अहिलेसम्म ५० पटक यहाँको भ्रमण गरिसक्नुभएको छ । सन् १९७० देखि हिमाल आरोहण गर्न शुुरु गर्नुभएका उहाँले पहिलो पटक सगरमाथाको एकल तथा विनाअक्सिजन पिटर हाबेलरसँग मिलेर अर्काे आरोहण गर्नुभएको थियो । उहाँले सन् १९७० र १९७८ मा मा नङ्गा पर्वत (८,१२५ मि), १९७२ मा मनास्लु (८,१६३ मि), १९७५ र १९८४ मा गाशेरब्रम प्रथम (८,०८० मि), १९७८ र १९८० मा सगरमाथा (८,८४८ मि), १९७९ मा के टु (८,६११ मि) र १९८१ म शिशपाङ्मा (८,०२७ मि) को सफल आरोहण गर्नुभएको थियो । यस्तै १९८२ र १९८४ मा कञ्चनजङ्घा (८,५८६ मि), १९८४ मा गाशेरब्रम दोस्रो (८,०३४ मि) र ब्रोड पीक (८,०५१ मि), १९८३ मा चो ओयु (८,१८८ मि), १९८५ मा अन्नपूर्ण (८,०९१ मि ), धौलागिरि (८,१६७ मि) तथा १९८६ मा मकालु (८,४८५ मि) र ल्होत्से (८,५१६ मि) को आरोहण गर्नुभएको थियो । अन्टार्कटिका र ग्रीनल्याण्ड पार गर्ने पहिलो नागरिक उहाँले गोबी मरुभूमि पनि एक्लै पार गर्नुभएको थियो । उहाँका आरोहण र अन्वेषणका क्रममा आफ्ना अनुभवबारेका ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । श्रीमती डायने छुमाछेरसँग सन् २०२२ को नयाँ वर्ष मनाउने क्रममा नेपाल आउनुभएका उहाँ केही दिन नाम्चे बसेर काठमाडौँ फर्किनुभएको थियो । राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गरेको सङ्क्षिप्त कुराकानी :

    तपाईँलाई के कुराले नेपालको भ्रमण गर्न प्रेरित गर्छ ?

    मेस्नर : जतिबेला नेपालका हिमाल आरोहण गर्ने लक्ष्य लिएर म नेपाल आएँ, त्यसबेलादेखि नै मलाई यहाँको प्राकृतिक सौन्दर्यसँगै नेपालीको व्यवहारले लोभ्यायो । पहिलोपटक सन् १९७८ मा सगरमाथाको आरोहण गरेपछि नेपालका अन्य हिमाल पनि आरोहण गर्ने चाहना ममा बढेर आयो । यहाँका हिमाल आरोहण गरेपछि नेपाली जनतालाई पनि बुझ्न पछि आएँ । नेपाललाई पर्यटन प्रवद्र्धन गराउन पाएकामा म आभारी छु । मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु । नेपाली कला, संस्कृतिबाट म निकै प्रभावित छु । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट म निकै प्रभावित भएको छु । नेपाल त स्वर्गको टुक्रा नै हो, यहाँका बासिन्दा, हिमाल र प्राकृतिक सौन्दर्यको जति वर्णन गरे पनि सकिँदैन । नेपालीहरूको सरल व्यवहार र हँसिलो अनुहारलाई बिर्सन सक्दिन । त्यही मोहले मलाई बर्सेनि नेपाल भ्रमण गराउन प्रेरित गर्ने गरेको छ । वर्षमा कम्तीमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन ।

    तपाईँ नेपालका हिमाल आरोहण गर्दा र अहिलेका अवस्थामा के फरक देख्नुहुन्छ ?

    मेस्नरः ५० वर्षअघि मैले नेपालका विभिन्न हिमशृङ्खलाको आरोहण गर्दा र अहिलेका अवस्थामा धेरै परिवर्तन भएको मैले महसुस गरेको छु । त्यतिबेला हिमालका बारेमा आरोहीहरूलाई कुनै जानकारी थिएन । कुन हिमालको अवस्थिति कस्तो छ, कुन समयमा कुन रुटबाट कसरी आरोहण गर्ने भन्ने ज्ञान थिएन, के कस्ता सामग्री लैजानुपर्ने हो र कुन रुट प्रयोग गर्ने भन्ने जानकारी नभएको अवस्थामा आरोहण गर्नु निकै चुनौतीपूर्ण थियो । हामी आरोहीका साथ जाने शेर्पाहरूमा पनि आरोहणको अनुभव थिएन तर अहिले आरोहणका बारेमा पर्याप्त जानकारी र सूचना पाउन सकिन्छ, शेर्पाहरूबाट पूर्ण सहयोग हुन्छ ।

    नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेकै हो ?

    मेस्नरः हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून रहे पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको असरबाट बढी नै प्रभावित बनेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालको हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अमादब्लम, मनास्लुलगायत हिमालयहरूमा पहिलेको तुलनामा निकै कम हिउँ पर्ने गरेको छ । हिजो वर्षैभरि हिउँले ढाक्ने चुचुराहरू पनि अहिले काला पहाड बनेका छन् । बिस्तारै हिमाली क्षेत्रको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जाँदा हिमताल फुट्ने, हिमनदी पग्लिने र हिमालहरूमा हिउँ पर्ने क्रममा निकै ह्रास आएकाले हिमालय क्षेत्रको पर्यावरणमा निकै फेरबदल भएको छ । जलवायु परिवर्तनले मनसुनको ढाँचा र वायु प्रणालीले हिमालय आरोहणलाई थप जोखिम बनाएको छ । केही वर्षयता हिमाली भेगमा हिमपहिरो, हिमआँधीजस्ता विपद्हरूको क्रम बढ्दो छ ।

    यस्ता घटना न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?

    मेस्नरः औद्योगीकीकरण, सवारी साधनको व्यापक प्रयोग, खनिज इन्धन र उपभोक्तावादका कारण सम्पूर्ण जलवायु प्रणाली सन्तुलनमा नरहेका कारण यस्ता चुनौती बढेका हुन् । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा आवाज उठाउनाका साथै आन्त्रिक रूपमा पनि केही कामहरू गर्नुपर्ने हुन्छ । व्यवस्थित शहरीकरण, स्वच्छ ऊर्जाको प्रयोग र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।

    नेपालमा पर्वतीय पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?

    मेस्नरः नेपालमा पर्वतीय पर्यटनको प्रचूर सम्भावना रहेकाले यसको विकासका लागि रणनीतिक योजनासहितका कार्यक्रम तय हुनुपर्ने देखिन्छ । नेपाल ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण रहेकाले योजनाबद्ध र दिगो तवरबाट विकासमा ध्यान दिन सकेमा नेपालले पर्यटनबाट धेरै फाइदा लिन सक्छ । देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, यहीँ विश्वका आठ हजार मिटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि रहेकाले पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यका रूपमा परिचित छ । देशको समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक छ ।

    नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन तपाईंको ठूलो योगदान छ । आगामी दिनमा यसलाई अझ विस्तार गर्न यहाँले केही सोच्नुभएको छ कि ?

    मेस्नरः नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र उहाँको पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन् । मैले निर्माण गरेका थुप्रै वृत्तचित्रले अन्तरराष्ट्रिय जगतमा नेपाललाई चिनाउन मद्दत पुगेको नै छ । नेपालको सद्भावना दूतका रुपमा मैले आफ्नो जन्म देश इटालीलगायत युरोपका अन्य देश र विश्वका धेरै देशमा नेपालको पर्यटन र हिमालका बारेमा प्रवचन दिँदै आएको छु । मैले इटालीकै विभिन्न शहरमा नेपाली कला, संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेको छु । अहिले म सोलुखुम्बुको नाम्चेमा कला सङ्ग्रहालय निर्माण गर्न लागिपरेको छु । विश्वकै उच्च स्थानमा रहने सङ्ग्रहालय आगामी वर्ष उद्घाटन गर्ने तयारी भएको छ । नेपालको पर्यटनसँग मेरो गहिरो सम्बन्ध रहेकाले आजीवन अन्तरराष्ट्रिय जगतमा नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने नै मेरो सोचाइ छ ।

    नेपाली पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार, पर्यटन व्यवसायी र नागरिकका तर्फबाट गरिनुपर्ने केही मूलभूत सुझावहरू छन् कि ?

    मेस्नरः पर्यटकहरू औसत नभई विशिष्ट अनुभव लिनका लागि नेपाल घुम्न आएका हुन्छन् । पर्यटकलाई मन पर्ने ढङ्गबाट यहाँका ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य–सत्कार, साहसिक गतिविधि र खेल एवं नौला ठाउँ अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नुपर्छ । नेपालका हिमशिखरहरू आरोहण गर्न आउने अधिकांश आरोहीहरू काठमाडौँ उत्रिएलगत्तै हिमालका आधार शिविरतर्फ लाग्ने र त्यहाँबाट काठमाडाँै हुँदै सिधै स्वदेश फर्किने गरेकाले तिनलाई यहाँको पदयात्रासँगै कला, संस्कृति र विविधताका बारेमा पनि अवगत गराउन सकिएमा नेपालको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्ने छ । पछिल्लो समय विश्वका विकसित देशका नागरिकजस्तै नेपालीमा पनि मोबाइल फोनको बढ्दो प्रयोगले गर्दा विदेशी पाहुनासँग खुलेर कुरा गर्ने, अभिवादन गर्नेजस्ता क्रियाकलाप क्रमशः घट्दै गएको देख्दा मलाई चिन्ता लागेको छ । यसबीचमा पर्यटकीय पूर्वाधारका क्षेत्रमा धेरै कामहरू भएका छन् तर पनि अझै धेरै ठाउँमा सुरक्षित र व्यवस्थित हवाइ उडान, पदयात्रा निर्माण, होटलको सुविधा, कला संस्कृतिको जगेर्ना र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।

    २२ पुस २०७८

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस