सौराहालाई हनिमुन सिटी बनाउन जोड , २४ घण्टा खुला गर्दा समस्या
ट्राभल बिज न्यूज अनलाइन ——
काठमाडौँ – नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रतिनिधिसभा बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।
सांसद गुरुङको कथन छ – ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनशिप बनाइदिउँ । १ हजार जोडी अट्ने शिप बनाइदिउँ । हनिमुन शिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ ? यसरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ,’ /
उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके २ खर्ब राजश्व उठ्ने , घरेलु मदिराको ब्रान्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।
यसैबीच काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा रात्रिकालीन सेवा खुला गर्ने निर्णय गरिएसँगै देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पनि चौबिसै घण्टा खुला गर्ने विषयमा विविध धारणा देखिएको छ / कतिपय व्यवसायी तथा चरा संरक्षणविज्ञले रात्रिकालीन पर्यटन सेवाले वन्यजन्तुको वासस्थान र जैविक विविधता संरक्षणमा प्रतिकूल असर पर्ने बताउँछन् । काठमाडौँ र पोखराको तुलनामा सौराहाको पर्यटनको अवस्था फरक भएकाले जङ्गल सफारी र जैविक विविधता अवलोकन गर्न आउने पर्यटकले शान्त वातावरणमा बस्न रुचाउने देखिएको छ ।
गोरखापत्र समाचारदाता बसन्त पराजुली अनुसार , जङ्गल सफारीमा निर्भर रहेको सौराहाको पर्यटनलाई चौबिसै घण्टा खुला गर्दा पर्यटन क्षेत्रमै असर पर्ने ,जैविक विविधिताका दृष्टिले पनि यहाँ आउने पर्यटकले शान्त वातावरण खोज्ने हुँदा अहिले नै ध्वनि प्रदूषणका कारण आक्रान्त सौराहा २४ घण्टा खुला गर्दा गन्तव्यप्रतिको महत्व घट्दै जाने कतिपय व्यवसायीहरुको धारणा छ /
सौराहाका पुराना होटल व्यवसायी रामकुमार आर्याल सौराहामा कुनै हालतमा रात्रिकालीन खुला गर्न नहुने तर्क गर्नुहुन्छ । सौराहाका नयाँ पुस्ताका व्यवसायीहरू भने सौराहामा पनि रात्रिकालीन सेवा सुरु हुनुपर्ने धारणा राख्छन् । रेस्टुरेन्ट व्यवसायी सङ्घ सौराहाका (रेवान) पूर्वअध्यक्ष राजन भट्ट काठमाडौँ र पोखरामा जसरी सौराहामा पनि रात्रिकालीन सेवा पाइन्छ भनेर सन्देश दिन ढिला भइसकेको बताउनुहुन्छ ।
“हामी पूर्वपश्चिम राजमार्गकै समिपमा छौँ । कमसेकम राति जति बेला आउँदा पनि सौराहा खुलै हुन्छ भन्ने हो भने त सौराहा ताकेर आउने पर्यटक अझै बढ्ने छन्,” उहाँको तर्क छ । वन्यजन्तुका गतिविधिलाई असर नपर्ने गरी र रात्रिकालीन म्युजिक बजाउन नपाउने गरी कडा मापदण्ड बनाएर पनि रातिमा सौराहा जागा राख्नुपर्ने उहाँको तर्क छ ।
विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार हो सौराहा । निकुञ्जमा ६४ किसिमका स्तनधारी जनावर, छ सय प्रजातिका चरा, ५९ किसिमका उभयचर तथा सरिसृप, १२० प्रजातिका माछा, ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु, सयभन्दा बढी प्रकारका वनस्पति रहेको तथ्य भेटिन्छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी वन्यजन्तुको बढी सक्रियता रहने रात्रिकालीन अवस्थामा पर्यटक गतिविधि रोक्नुपर्ने बताउनुहुन्छ ।
“वन्यजन्तुको मुमेन्ट गर्ने भनेकै रातिमा हो । यो बेला कुनै पनि गतिविधि गर्नु सुरक्षाका दृष्टिले पनि राम्रो मानिँदैन,” उहाँले भन्नुभयो । बाघ, भालु जस्ता हिंस्रक जनावरहरू रहेको निकुञ्जमा दिउँसै त सुरक्षा अपनाएर हिँडडुल गर्नुपर्ने उहाँको भनाइ छ । वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछाने पनि रात्रिकालीन पर्यटन सौराहाका लागि उपयोगी नहुने बताउनुहुन्छ ।
जेठ २०८१