‘ तमानखोला – ग्रामीण पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ ‘
नेपाल टुर न्यूज —
काठमाडौँ – ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले बाग्लुङ्ग जिल्लाको तमानखोला गाउँपालिकालाई नयाँ पर्यटकीय गन्तव्य बनाउन प्रारम्भिक अध्ययन पुरा गरेको छ ।
टानले बुर्तिबाङ हुँदै, बाराहताल, गुर्जाघाट, नर्जा, नौ डल्ले, शोलेहुँदै तामन गाउँपालिकाको दुर्लेक डाँडासम्मको अध्ययन गरेको छ ।
नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षसँग जोडिइको तामनखोला गाउँपालिका ४ नं प्रदेश बागलुङ जिल्लाको चारवटा नगरपालिका र छ वटा गाउँपालिका मध्य एक गाउँपालिका हो ।
काठमाण्डौँ देखि भएरबुङ्गासम्म करिब ३ सय ७० किलोमिटर यात्रापछि पैदल यात्रागर्दै २६३३ मि.उचाईमा रहेको बराह तालको अवलोकन गर्न सकिन्छ । पदयात्राको रुट अधिकतम उचाई ३४५० मि. सम्म रहनेछ ।
बराह तालबाट धौलागिरी हिमाल, माछापुच्छ, अन्नपुर्ण तथा निलगिरी हिमाल, नौडल्ले डाँडाबाट सिस्ने हिमाल, चुरेहिमाल, अन्नपूर्ण,धौलागिरी तथा शोले र दुर्लेक डाँडाबाट मानापाती हिमाल,घोडेकन्ने हिमालको अवलोकन गर्न सकिने टानले जनाएको छ /
साथै पदयात्राको क्रममा पर्यटकहरुले तीन किसिमका लालीगुराँस, काफल, डेम्बर, अैंसलो, चुट्रो, घँयालो , जोन्द्रो, मह्याल, लीसो, गोफीला, किमु, टिमुर लगायतका अरु फलफूल तथा जडीबुटीहरु देख्न सक्नेछन् ।
साथै घोरल, मृग, चितुवा, बंदेल, बादर, डाँफे, मुनाल, कालिज लगाएतका पशुपन्छीहरु पनि अवलोकन गर्न सकिन्छ ।
विविध कला र संस्कृति रहेको सो गाउँपालिमा विशेषगरी छन्त्याल, मगर, दलित र आंसिक रुपमा ब्राह्मण, क्षेत्री र दर्जीको बस्तीबस्ति रहेको तथा यस भेगमा मुख्यतःयानीमाया भाका, सोरथी नाँच, लोक दोहोरी र बाजा तालमा मयाली गीतले पर्यटकहरुलाई आकर्षित गर्नेछ ।
टानको गन्तव्यखोज तथा प्रर्वद्घन विभागका संयोजक सुक बहादुर लामाको संयोजकत्वमा नयाँ पदयात्राको अध्ययन गरिएको हो /
बागलुङ तमानखोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढामगरले स्थानीय भेषभूषा, संस्कृति, कला र मनोरम दृश्यले बाह्य तथा आन्तरिक पर्यटकहरुलाई आर्कषण गर्न सकिने कुरा बताए ।
असार १४ , २०७५
तस्विर : राजु थापा मगर